लोकसेवा तयारी गोरखापत्र विशेष: वस्तुगत प्रश्नोत्तरहरू
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
२५ चैत २०८२, बुधबार
✍️ १. वसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुखमा पदमा कसलाई चयन गरियो ?
✅ डोलप्रसाद (डिपी) अर्याल
➖ अन्य दलबाट कुनै उम्मेदवारी नपरेपछि उहाँ उक्त पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
➖ १० औँ सभामुखको रूपमा निर्वाचित अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।
➖ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–९ बाट सांसद निर्वाचित अर्यालले यसअघि नेपाल सरकारको ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री’ को जिम्मेवारीसमेत समाल्नु भएको थियो ।
➖ पहिलो सभामुख : कृष्णप्रसाद भट्टराई
➖ पहिलो महिला सभामुख : ओनसरी घर्तीमगर
✍️ २. हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ?
✅ आर्टेमिस–२
➖ सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।
➖ यस मिसनका चार जना यात्रीमध्ये क्रिस्टिना कोच चन्द्रमाको कक्षमा पुग्ने पहिलो महिला र भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्षयात्री हुन् ।
➖ यात्रीहरूले चन्द्रमामा पाइला टेक्ने छैनन् । उनीहरूले यानमार्फत चन्द्रमाको नजिकबाट परिक्रमा गर्ने छन् र १० दिने यात्रापछि पृथ्वी फर्कने छन् ।
➖ ५० वर्षपछिको यो पहिलो मानवसहितको चन्द्र–उडानद्वारा आगामी मिसन (आर्टेमिस–३) मार्फत मानिसलाई सुरक्षित रूपमा चन्द्रमामा उतार्नुअघि प्रविधिको परीक्षण गरिने जनाइएको छ ।
✍️ ३. वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?
✅ कवि तथा गीतकार माधव खनाल ‘भावुक’
➖ यसै गरी, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ ।
➖ दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ ।
➖ आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित चितवनका धनराज गिरीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ बाट सम्मान गरिएको हो ।
➖ त्यसै गरी किशोरावस्थादेखि नै समाज सेवामा समर्पित काठमाडौँका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ ।
➖ नेपाली साहित्य जगत्की प्रतिभा डा. वानीरा गिरीको सम्झनामा यी पुरस्कार स्थापना गरिएको हो ।
✍️ ४. काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ?
✅ विसं २०८३ वैशाख १
➖ यस सेवा अन्तर्गत हाल एउटा रुट ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म हुने छ । त्यस्तै अर्को रुट थानकोटदेखि सतुङगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रहेको छ ।
➖ यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बसमा सिसिटिभी क्यामरा जडान हुने छन् । सुरक्षाका लागि नगर प्रहरी हुने छन् ।
✍️ ५. आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ कसलाई प्रदान गरियो ?
✅ वरिष्ठ गीतकार किरण खरेल
➖ नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्राडा दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्रका साथ नगद राशि एक लाख १११ रुपियाँ प्रदान गरिएको छ ।
➖ सम्मानित स्रष्टा खरेलको पहिलो गीत ‘ए दूरका सितारा मेरो चाँदनी कहाँ छ...’ २०१४ सालमा रेकर्ड भएको थियो साथै हिमालको काखमा छ सानो मेरो गाउँ..., तिमीले चुमेका पाइला..., उसको मायाले मा¥यो..., यो मौसम यो हरियाली..., नमान लाज यस्तरी..., वसन्त नै बस्न... लगायत सात सयभन्दा बढी गीत उहाँले सिर्जना गर्नुभएको हो ।
✍️ ६. सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ ?
✅ युसिन–एआरटी जेभी (चिनियाँ कम्पनी)
➖ सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि गत कात्तिक १६ गते ठेक्का आह्वान भएको थियो । १० कम्पनीले टेन्डर दिएकामा युसिन–एआरटी जेभीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेको थियो ।
➖ सो सुरुङमार्ग विसं २०८३ वैशाख अन्तिममा परीक्षण तथा साउन पहिलो सातादेखि व्यावसायिक सञ्चालन हुने जनाइएको छ ।
✍️ ७. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?
✅ विसं २०६९ I
✍️ ८. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
✅ स्नातक तह
✍️ ९. सर्वप्रथम सुशासन शब्दको आधिकारिक प्रयोग कहिले गरिएको हो ?
✅ सन् १९८९ (विश्व बैङ्कद्वारा)
➖ विश्वमा पहिलोपल्ट विश्व बैङ्कद्वारा प्रस्तुत सन् १९८९ को ‘सब–सहारन अफ्रिका ः फ्रम क्राइसिस टु सस्टेनेबल ग्रोथ’ प्रतिवेदनले अफ्रिकाको विकास नहुनुको मुख्य कारण ‘शासन व्यवस्थाको कमजोरी’ लाई मानेको छ । सन् १९९० को दशकबाट दिगो विकास र गरिबी न्यूनीकरणको अनिवार्य सर्तको रूपमा सुशासनको अवधारणाको उदय भएको हो ।
➖ सन् १९९२ को विश्व बैङ्ककै अर्को प्रतिवेदन ‘गभर्नेन्स एन्ड डेभलपमेन्ट’ मार्फत सुशासनका मुख्य तत्व जस्तै : पारदर्शिता, उत्तरदायित्व आदि स्थापित भएको छ ।
➖ विश्वव्यापी मान्यताः सन् १९९५ को ‘सामाजिक विकाससम्बन्धी विश्व सम्मेलन’ ले सुशासनलाई प्रजातान्त्रिक र मानवकेन्द्रित दिगो विकासको आधारशिलाको रूपमा घोषणा गरेको छ ।
➖ मुख्य उद्देश्य : शासन व्यवस्थामा सुधार ल्याई जनतालाई उपलब्ध गराउने सेवा प्रवाहमा गुणस्तरीयता, पारदर्शिता र प्रभावकारिता बढाउनु हो ।
✍️ १०. विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ ?
✅ पाँच लाख १२ हजार ४२१
➖ नियमिततर्फ : चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ : ७० हजार ८५५ विद्यार्थी ।
➖ परीक्षा सञ्चालन मिति : विसं २०८२ चैत १९–२९
➖ परीक्षा केन्द्र : १,९६६ (जापानमा एकसमेत गरी) ।
➖ राष्ट्रिय परीक्षा बोर्डले यस पटक एसइईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गरेको छ ।
✍️ ११. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गर्यो ?
✅ डा. गुणाकर भट्ट
➖ नियुक्त मिति : विसं २०८२ चैत २४ ।
✍️ १२. कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ ?
✅ राइट लिभ्लिहुड पुरस्कार
✍️ १३. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
✅ प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।
✍️ १४. सर्वोच्च अदालतको कायममुकायम प्रधान न्यायाधीशमा कसलाई नियुक्त गरियो ?
✅ सपना प्रधान मल्ल (विसं २०८२ चैत १८)
➖ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ बर्से उमेर हदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधान न्यायाधीशको रूपमा जिम्मेवारी समाल्नु भएको हो ।
➖ उहाँ विसं २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुनुभएको थियो ।
➖ नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी मल्लले दिल्ली विश्वविद्यालयमा कानुनमै स्नातकोत्तर तथा अमेरिकाको हार्वर्डबाट जनप्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।
✍️ १५. सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो ?
✅ विसं २०८२ चैत २२
➖ सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
➖ कार्यालय समय बिहान नौ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ ।
➖ सार्वजनिक बिदाका दुई दिन सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहने छन् ।
✍️ १६. नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?
✅ विसं २०८१ मङ्सिर २
➖ सुन्धारास्थित टेलिकमको कार्यालयमा ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको हो ।
➖ सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने छ ।
➖ रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ ।
✍️ १७. विमानमा जडित बल्याक बक्सको रङ कस्तो हुन्छ ?
✅ सुन्तला रङ
✍️ १८. साना तथा मझौला उद्यम विकास केन्द्रको स्थापना कहिले गरिएको हो ?
✅ विसं २०८१ मङ्सिर ३
✍️ १९. ‘सपना कतिपय’ नामक कथाकृतिका सर्जक को हुनुहुन्छ ?
✅ कुमार काफ्ले (विपना कतिपय कृतिका सर्जक : इन्द्रबहादुर राई)
✍️ २०. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?
✅ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली
✍️ २१. सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा कसलाई नियुक्त गरियो ?
✅ डा. नारायणदत्त कँडेल
➖ नियुक्त मिति : विसं २०८२ चैत २२
➖ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त ।
➖ प्रथम महान्यायाधिवक्ता : कालीप्रसाद उपाध्याय (विसं २००८ पुस ८)
➖ पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल (विसं २०८२ भदौ २९)
प्रस्तुतकर्ता : टङ्क केसी


_1.jpeg)
_1.jpeg)
Comments
Post a Comment