"लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर सामान्यज्ञान "( २०८३ वैशाख ९ )

 


लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२०८३ वैशाख)

स्रोत: गोरखापत्र 

मिति: ९ वैशाख २०८३, बुधबार


​१. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ?

उत्तर: दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ

  • आयोजना मिति: विसं २०८३ वैशाख ४–६
  • आयोजक: दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ।
  • समन्वय: कोशी प्रदेश सरकार, वन्यजन्तु विभाग, वन तथा भूसंरक्षण विभाग र रेडपाण्डा नेटवर्क ।
  • सहभागी राष्ट्रहरू: नेपालसहित भारत, भुटान, बङ्गलादेश, अमेरिका, अस्ट्रेलिया, जर्मनी (पश्चिम एसिया युद्धका कारण प्रतिबद्धता जनाएका अन्य २३ मुलुक भने सहभागी हुन सकेनन्) ।
  • मुन्दुम ट्रेल: सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने खोटाङको प्रमुख पदमार्ग । यसको लम्बाइ करिब १०७ किलोमिटर रहेको । यसलाई अब ‘रेडपाण्डा–थार पदमार्ग’ का रूपमा प्रवर्धन गरिने भएको छ ।
  • समुदायमा आधारित संरक्षण: दिक्तेल रूपाकोट मझुवागढी–१० (पाथेका) र केपिलासगढी गाउँपालिका–१ (फेदी) मा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

​२. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?

उत्तर: २.७ प्रतिशत

  • सरकारको लक्ष्य: चालु वर्षका लागि ३.५ प्रतिशत (बजेटको अर्धवार्षिक समीक्षामार्फत) ।
  • एडिबीको प्रक्षेपण: आर्थिक वर्ष २०८३/८४ मा भने वृद्धिदर सुधार भई करिब ५ प्रतिशत पुग्ने अनुमान छ ।
  • गत आर्थिक वर्ष २०८१/८२ को वृद्धिदर ४.६ प्रतिशत रहेको थियो ।
  • सुस्त हुनुका कारणहरू: विसं २०८२ भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ पछि आएको आर्थिक शिथिलता, ढिलो मनसुन तथा बाढीका कारण कृषि क्षेत्र (विशेष गरी धान उत्पादनमा करिब ४.२ प्रतिशत) मा आएको गिरावट, मध्यपूर्वमा हाल जारी सैन्य तनाव र उद्योग क्षेत्रमा सुधार नआउनु ।
  • मुद्रास्फीति: चालु आर्थिक वर्षमा मुद्रास्फीति करिब ३.७ प्रतिशत रहने एडिबीको अनुमान छ । आगामी वर्ष बढेर करिब ४.५ प्रतिशत पुग्न सक्ने छ ।

​३. प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुन सफल प्रतिनिधि सभा सदस्य को हुन् ?

उत्तर: रुबीकुमारी ठाकुर (विसं २०८२ चैत २७ मा चयन)

  • ​ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।
  • ऐतिहासिक कीर्तिमान: २५ वर्षकै उमेरमा चयन भई सबैभन्दा कम उमेरमा उपसभामुख बन्ने नयाँ कीर्तिमान कायम भएको छ ।
  • प्राप्त मत परिणाम: पक्षमा अत्यधिक बहुमत अर्थात् २२९ मत प्राप्त ।
  • समर्थन गर्ने प्रमुख दलहरू: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी ।
  • निकटतम प्रतिस्पर्धी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामा (लामालाई ५ मत प्राप्त भएको छ) ।

​४. चर्चित बलिउड तथा पार्श्व गायिका आशा भोसलेको निधन कहिले भएको हो ?

उत्तर: सन् २०२६ अप्रिल १२ (९२ वर्षको उमेरमा)

  • ​हृदयाघातका कारण मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा मृत्यु भएको हो ।
  • जन्म र साङ्गीतिक सुरुवात: सन् १९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रमा जन्म । मात्र १० वर्षको उमेरमा (सन् १९४३ मा) मराठी चलचित्रबाट साङ्गीतिक यात्रा सुरु ।
  • विश्व कीर्तिमान: सन् २०११ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ द्वारा सङ्गीत इतिहासमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने गायिकाको औपचारिक मान्यता ।
  • भाषा र गीत: नेपाली, हिन्दी, मराठी, बङ्गालीलगायत २० भन्दा बढी स्वदेशी तथा विदेशी भाषामा हजारौँ गीत रेकर्ड ।
  • चर्चित नेपाली गीतहरू: मोहनी लाग्ला है (चिनो), यो हो मेरो प्राणभन्दा प्यारो (माइतीघर), पहाडको माथि माथि (लाहुरे), गैरी खेतको सिरै हान्यो (प्रेमपिण्ड) आदि ।
  • सम्मान/पुरस्कार: दादासाहेब फाल्के पुरस्कार (सन् २०००) र पद्म विभूषण (सन् २००८) ।
  • पारिवारिक सम्बन्ध: प्रख्यात गायिका लता मङ्गेसकरकी बहिनी तथा प्रख्यात सङ्गीतकार राहुल देव बर्मन (आरडी बर्मन) सँग विवाह ।

​५. स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ कसलाई प्रदान गरियो ?

उत्तर: डा. उमाकान्त तिवारी (प्रमुख विशेषज्ञ, स्वास्थ्य सेवा कार्यालय, हुम्ला)

​६. नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो ?

उत्तर: सन् २०२५ मार्च ३–३१

  • थिम: बटरफ्लाई म्याराथुन

​७. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

उत्तर: विसं २०४७ चैत ४

  • ​विसं २०८२ चैत ४ मा कोष ३५ वर्ष पूरा गरी ३६ औँ वर्षमा प्रवेश गरेको छ ।

​८. पारदर्शिताको प्रवर्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ओपन गभर्नमेन्ट पार्टनरसिप (ओजिपी) को स्थापना कहिले गरिएको हो ?

उत्तर: सन् २०११ सेप्टेम्बर २०

​९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?

उत्तर: द्रविड

​१०. ‘डा. महेशराज पन्त सम्मान–२०८२’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

उत्तर: प्राडा सुरेन्द्र केसी

  • ​नेपालका विशिष्ट विद्वान्, इतिहासविद् तथा लिपिविज्ञ धनवज्र वज्राचार्यको जन्मजयन्तीको अवसर पारेर विसं २०८२ चैतमा यी सम्मान प्रदान गरिएको हो ।
  • धनवज्र प्रज्ञा सम्मान: प्राडा रमेश ढुङ्गेल
  • धनवज्र शोध सम्मान: पदम सुन्दास
  • धनवज्र वज्राचार्य शोधसम्मान: प्राडा ज्ञानबहादुर कार्की र सहप्राध्यापक सन्ध्या खनाल पराजुली
  • प्रधानाध्यापक कृष्णबहादुर मानन्धर स्मृति सम्मान: पार्थिवेश्वरप्रसाद तिमिल्सिना
  • विज्ञानका कुरा सम्मान: वैज्ञानिक मुकेशकुमार चालिसे
  • अच्युतरमण अधिकारी स्मृति साहित्यिक सम्मान: सूर्यरमणप्रसाद लाकजू

​११. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो ?

उत्तर: सन् २०२६ अप्रिल १०

  • प्रक्षेपण मिति: सन् २०२६ अप्रिल १ (नासाको केनेडी स्पेस सेन्टरबाट) ।
  • अवतरण मिति: सन् २०२६ अप्रिल १० (प्रशान्त महासागरमा सुरक्षित अवतरण) ।
  • मिसन अवधि: १० दिन (चन्द्रमाको परिक्रमा गरी सफलतापूर्वक पृथ्वी फिर्ता) ।
  • कुल दुरी: पृथ्वीबाट ४,०६,७७१ किलोमिटर (२५२,७५६ माइल) टाढा पुगी नयाँ मानव कीर्तिमान कायम गरेको छ ।
  • अन्तरिक्षयान: ‘स्पेस लन्च सिस्टम’ रकेट र ‘ओरायन’ क्याप्सुलको प्रयोग ।
  • चालक दल: ४ जना (रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन) ।
  • प्रमुख उपलब्धि: ५० वर्षभन्दा बढीको समयपछि चन्द्रमाको कक्षमा पुग्ने पहिलो मानवसहितको मिसन ।
  • ऐतिहासिक सहभागिता: चन्द्रमाको यात्रामा पहिलो पटक महिला (क्रिस्टिना कोच) र अश्वेत व्यक्ति (भिक्टर ग्लोभर) को सफल सहभागिता ।

​१२. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

उत्तर: शैलजा आचार्य

​१३. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?

उत्तर: सन् २००० को सिड्नी ओलम्पिकदेखि

​१४. हाल गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा को चयन भएका छन् ?

उत्तर: डा. हेमराज शर्मा

  • वरिष्ठ उपाध्यक्ष: रोविनप्रसाद शेरचन
  • महासचिव: डा. चिरञ्जीवी खड्का
  • सम्मेलन आयोजना: विसं २०८२ फागुन ३०–चैत्र २ (सन् २०२६ मार्च १४–१६), काठमाडौँ
  • नारा: हाम्रो एकता, समृद्धिको आधार
  • ​सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

​१५. डार्विनको प्राकृतिक छनोटको सिद्धान्त भनेको के हो ?

उत्तर: बढी उन्नतिशील जीवको छनोट र कम उन्नतिशील जीवको विनाश प्रकृतिबाट हुने प्रक्रिया

​१६. जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?

उत्तर: पल्पसा क्याफे

​१७. सरकारले आफ्नो १०० दिने कार्यसूची अनुसार तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा आगामी ५ वर्षभित्र नेपालको प्रतिव्यक्ति आय कति पुर्‍याउने लक्ष्य रहेको छ ?

उत्तर: ३ हजार अमेरिकी डलर (विसं २०८३ वैशाख १ गते प्रस्तुत)

अर्थतन्त्र र विकास लक्ष्य:

  • आर्थिक वृद्धि: आगामी ५ वर्षभित्र औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याइने ।
  • प्रतिव्यक्ति आय: ३ हजार अमेरिकी डलर र जीडिपी १०० अर्ब डलर नजिक पुर्‍याइने ।
  • गरिबी निवारण: हालको बहुआयामिक गरिबीलाई घटाएर १० प्रतिशत कायम गर्ने ।
  • कर नीति: व्यावसायिक वातावरण तय गर्न आगामी १० वर्षसम्म करका दरहरू स्थिर राखिने ।
  • रोजगारी: आगामी ५ वर्षमा १५ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य ।
  • ​रिमोट वर्क र सीमापार सेवा निर्यातलाई प्रोत्साहन ।

सुशासन/प्रशासनिक सुधार:

  • मन्त्रालय कटौती: हालको सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १७ वटामा सीमित गर्ने ।
  • सम्पत्ति छानबिन: वि.सं. २०४६ सालपछिका सबै सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने ।
  • प्रशासनिक पुनर्संरचना: आगामी ५ वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने ।
  • सेवा प्रवाह: सार्वजनिक सेवामा ‘टाइम कार्ड’ र कागजविहीन डिजिटल प्रणाली लागु गर्ने ।
  • ​राष्ट्रिय योजना आयोगलाई थिङ्क ट्याङ्क ढाँचामा लगिने ।
  • ​उच्चस्तरीय प्रशासन संरचना पुनरवलोकन आयोग गठन ।

परराष्ट्र, ऊर्जा र पूर्वाधार नीति:

  • परराष्ट्र नीति: कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने । ‘नेपाल प्रथम र नेपाली प्रथम’ को अवधारणालाई पूर्णरूपमा आत्मसात् गर्ने ।
  • ऊर्जा लक्ष्य: आगामी एक दशक (१० वर्ष) मा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राख्ने ।
  • पूर्वाधार लगानी: ठूला पूर्वाधार विकासका लागि वार्षिक १ खर्ब रुपियाँ बराबरको ‘डायस्पोरा बन्ड’ जारी गर्ने ।
  • राजमार्ग स्तरोन्नति: पूर्व–पश्चिम (महेन्द्र) राजमार्गलाई ३ वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्ने ।

स्वास्थ्य, शिक्षा, प्रविधि र कृषि:

  • राष्ट्रिय आरोग्य वर्ष: सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’ का रूपमा मनाउने ।
  • स्वास्थ्य बजेट: विसं २०८८ सम्ममा कुल बजेटको ८ प्रतिशत स्वास्थ्यतर्फ विनियोजन गर्ने ।
  • शिक्षा नीति: विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै मोडेल’ लागु गर्ने ।
  • कृषि तथा सामाजिक सुरक्षा: किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित किसान पेन्सन लागु गर्ने । आइटी प्रवर्धन बोर्ड गठन ।

सामाजिक न्याय तथा समावेशीकरण:

  • ​राज्यका तर्फबाट विगतका विभेदप्रति औपचारिक क्षमायाचना ।
  • ​सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता र समान ज्याला ।
यस्तै उपयोगी सामग्रीको निशुल्क अध्ययनको लागि हामिलाई सम्झिनुहोला । 

Comments

Popular posts from this blog

TSC Vacancy 2082-2083: Lower Secondary Level (Ni-Ma-Vi) Teacher Job Openings in Nepal शिक्षक सेवा आयोग विज्ञापन २०८२ : निम्न माध्यमिक तह शिक्षक पदको ठुलो संख्यामा विज्ञापन

Nepal khanepani sansthan vacancy 2083

बालेन सरकारका १५ सदस्यीय मन्त्रीहरूको शैक्षिक योग्यताक्रम